2021-11-04 Samachar Sadhai
काठमाडौँ, १८ कात्तिक (रासस) ः
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल
दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पार्नुभएको छ । नेपाल
संवत् ११४२ का अवसरमा आज नेवाः मुक्ति मोर्चाले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान
कार्यक्रममा उहाँले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको बताउनुभयो
।
“पहिचानको मुद्दा हामीले छाडेको होइन, संविधानमा
पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ”, उहाँले भन्नुभयो
। मुलुक र जनतालाई अधिकारसम्पन्न बनाएको देशीविदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको
उल्लेख गर्दै उहाँले उनीहरु अहिले माओवादीलाई कमजोर बनाउन लागि परेको बताउनुभयो ।
“माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको
उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन्
। त्यो देखेर हामी झस्क्यौँ र सडकमा पनि गयौँ, जनताको बलमा प्रतिगामी कदमलाई परास्त
ग¥यौँ”, उहाँले भन्नुभयो ।
देशलाई समाजवादी मुलुकतर्फ लैजाने क्रान्तिकारी पार्टी
निर्माणको अभियानमा आफू जुटेको उल्लेख गर्दै उहाँले आगामी राष्ट्रिय सम्मेलनमार्फत
पार्टीलाई क्रान्तिकारी ढङ्गले अगाडि बढाउने बताउनुभयो ।
“हामीले फेरि एकपटक उत्पीडित वर्ग समुदायका मुद्दा
र समाजवादी क्रान्तिको रणनीतिलाई लागू गर्न नयाँ ढङ्गको क्रान्तिकारी पार्टी बनाइछाड्ने
सङ्कल्प गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका निम्ति जरुरी पर्छ भने जस्तोसुकै आन्दोलन
गर्न पनि पछि नपर्ने सङ्कल्पमा पार्टी छ ।” पार्टीले जिम्मेवारी लिएको मन्त्रालयकातर्फबाट
जनतालाई राहत दिइएको जानकारी दिँदै जनताका समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको
बताउनुभयो ।
–––
Popular News