2021-11-08 Samachar Sadhai
बागमती, २२ कात्तिक (रासस) ः
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र
पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री
नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत
लिनुपर्ने प्रावधान छ ।
प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने
र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले
जानकारी दिनुभयो । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया आजै सकिन्छ, नभ्याए
मात्र बाँकी प्रक्रिया भोलिका लागि सर्छ”, उहाँले भन्नुभयो । प्रदेशसभामा १०९ सदस्यमध्ये
५९ का समर्थनमा मुख्यमन्त्री बन्नुभएका पाण्डेले सजिलैसँग विश्वासको मत प्राप्त गर्ने
देखिन्छ । विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्रीलाई ५५ मत आवश्यक पर्छ । सत्तागठबन्धनमा
रहेका दलहरुसँग ५९ मत कायम छ ।
मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि
मात्रै मन्त्रिपरिषद् विस्तार गर्नहुने बताइएको छ । यसअघि मुख्यमन्त्रीले चार सदस्यीय
मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।
–––