2021-11-08 Samachar Sadhai
मकवानपुर, २२ कात्तिक (रासस) :
वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको
बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राख्नुभएको विश्वासको
मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ ।
उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा
सचिवालयले जनाएको छ । विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको तीन मत
परेको छ । नेपाल मजदुर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।
यसैगरी, राप्रपाका सांसदहरू अनुपस्थित रहनुभएको थियो
। वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी
नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।
तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक
१० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त हुनुभएको
हो । वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभाका सदस्यहरू हुनुहुन्छ । आजको बैठकमा
जम्मा १०४ जना प्रदेशसभा सांसदहरू उपस्थित हुनुहुन्थ्यो ।
–––