2021-11-08 Samachar Sadhai
धनुषा, २२ कात्तिक (रासस):
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको
१४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने
धारणा व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना
आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका
लागि प्रधानमन्त्री तथा पार्टी सभापति दुवै एकै व्यक्ति हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री
र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने
उहाँको भनाइ थियो ।
गृहमन्त्री खाँणले तराई मधेसमा रहेको नागरिकता समस्या
सम्पूर्ण देशको समस्या भएको बताउनुभयो । “यसलाई अध्यादेशबाट नभई ऐनमार्फत दीर्घकालीन
रूपमा समाधान गर्न सरकारले तयारी गरिरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख प्रतिपक्षी
दल नेकपा एमालेले पटक पटक संसद् अवरुद्ध गर्दै आएकाले नागरिकता लगायतका अन्य आवश्यक
विधेयक अड्किएको र संसद् सञ्चालन हुने बित्तिकै नागरिकता विधेयक नै आफूहरूले पारित
गराएर समस्या समाधान गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
सदनको गतिरोध हटाउन उहाँले एमालेसँग आग्रह गर्नुभयो
। गृहमन्त्री खाँणले सरकार आमजनताको जीवन रक्षाका लागि गम्भीर रहेको स्पष्ट पार्दै
नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । सुरक्षा व्यवस्थामा
थप सुधार गर्न तथा नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउनुपर्ने अधिकारको सुनिश्चितताका
लागि सरकार प्रयत्नशील रहेको उहाँले उल्लेख गर्नुभयो । न्यायापालिका, कार्यपालिका र
व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उहाँले न्यायापालिकामा
देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान गर्नु आवश्यक भएको र सरकारको चाहना समेत त्यही
भएको मन्त्री खाँणको भनाइ थियो ।
–––
Popular News