2021-11-09 Samachar Sadhai
काठमाडौँ, २३ कात्तिक (रासस) :
बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका
अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले
निर्देशन दिएको छ ।उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण
कागजातका आधारमा बिमासम्बन्धी कसुर हुने गरेको गुनासा आउन थालेकाले सतर्क रहनसमेत सम्बन्धित
पक्षलाई जानकारी गराएको हो ।
समितिमा बिमा व्यवसायसँग सम्बद्ध विभिन्न
व्यक्ति, समूह तथा संस्थामार्फत बिमाका नाममा विभिन्न कीर्ते र जालसाजीपूर्ण कागजात
पेश गरी ठगी गर्ने गरेको, कीर्ते कागजात एवं विवरणका आधारमा बिमालेख तयार गर्ने गरेको
र हुँदै नभएका घटनाका कीर्ते कागजात पेश गरी दाबी भुक्तानीको प्रयास गरेको गुनासा आउन
थालेकाले यस्ता क्रियाकलाप नगर्न निर्देशन दिइएको बताइएको छ ।
यस्ता कानुनविपरीतका क्रियाकलापबाट बिमा
व्यवसायमा नकारात्मक असर पर्ने र बिमीत तथा लाभग्राहीसमेत पीडित भई बिमाप्रति जनविश्वास
घट्नाका साथै यसको साखमा समेत ह्रास आउने भएकाले यस्ता गलत क्रियाकलापमा सम्लग्न नहुन
र सम्लग्न भएको देखिए कानुनबमोजिम कडा कारबाही गरिने समितिले जारी गरेको सूचनामा उल्लेख
छ ।
–––