2021-11-10 Samachar Sadhai
काठमाडौँं, २४ कात्तिक (रासस) :
नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि
१२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको
सहभागी हुने भएको छ ।
एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट
महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा जनपरिचालन समितिका संयोजक
खिमलाल भट्टराईले जानकारी दिनुभयो । उद्घाटन समारोहमा एमालेले पाँच लाख सहभागी गराउने
भएको छ । एमालेले चितवनको नारायणी नदी किरारमा रहेको खाली मैदानमा महाविधेशनको उद्घाटन
समारोह गर्ने भएको छ ।
यस्तै एमालेले छिमेकी जिल्लाबाट पनि महाधिवेशनको
उद्घाटनको दिन सहभागी गराउने भएको छ । एमालेले पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही,
कपिलवस्तु, पर्सा, धादिङ्, गोरखालगायत जिल्लाबाट पनि उद्घाटन समारोहमा सहभागी गराउने
तयारी गरेको हो । उहाँका अनुसार जनवर्गीय सङ्गठनबाट सहभागी हुने नेता तथा कार्यकर्ताले
हातमा नेपालको झण्डा, आ–आफ्नो सङ्गठनको ब्यानर र झाँक्रीसहित सहभागी हुनेछन् ।
यस्तै महाधिवेशनका लागि ३०० स्वम्सेवक
परिचालन गरिने तयारी गरिएको छ । उद्घाटन समारोहका दिन भरतपुर बजारको मुख्य चोकमा डिजिटल
स्क्रिनसमेत राखिने जनपरिचालन समितिका संयोजक भट्टराईले बताउनुभयो । मैदानमा सबै सहभागी
नअट्ने भएपछि बजारको मुख्य मुख्य चोकमा एमालेले डिजिटल स्क्रिन राख्न थालेको हो ।
बुटवल–नारायणगढ सडकखण्ड मर्मत गरिने
एमालेले चितवनमा हुने महाधिवेशनलाई ध्यानमा
राखेर बुटवल–नारायणगढ सडक खण्डको मर्मत गर्न सडक विभागलाई अनुरोध गरेको छ । महाधिवेशनमा
आउने प्रतिनिधिलाई सहज गराउनका लागि सडकमा रहेको खाल्डाखुल्डी पुर्ने र डाइभर्सनलाई
व्यवस्थित गर्नेबारे सडक विभागसँग छलफल भइरहेको एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका
भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार वुटबलबाट महाधिवेशनस्थलमा गाडीबाट साढे
दुईदेखि तीन घण्टामा पुग्ने गरी सडक मर्मत गरिने छ । पुनःनिर्माण भइरहेको उक्त सडक
खण्डमा अहिले ठाउँठाउँमा खाल्डाखुल्डी र ग्राबेल रहेको छ ।
एमालेको महाधिवेशनमा २२५ केन्द्रीय कमिटी, अनुशासन
आयोग तथा लेखा आयोगका १५÷१५ जना गरी कूल २५५ जना निर्वाचित हुने छन् । पहिलो पटक विद्युतीय
मेसिनबाट मतदान हुने महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि सहभागी हुने
छन् ।
–––
Popular News